काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सचिवहरुले फनफनी घुमाएर दिक्क बनाएको बताएकी छन् ।
राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कासँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले सचिवहरुले फनफनी घुमाएको भन्दै सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्रबाट गर्नुपर्ने आवश्यक्ता देखिएको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने। अख्तियार देखाउने। केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ ।’
उनले नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने बताएकी छन् । पहिलो सुशासन कायम, दोस्रो भ्रष्टाचार नियन्त्रण र तेस्रो रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ। भएका अवसरमा पनि नातावाद छ। यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ। खुलेआम भ्रष्टाचार रोख्नुपर्छ ।’











