काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ४ समानुपातिक सांसदतर्फ विगतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी भनेर चिनाउने खुस्बु ओलीदेखि सरस्वती लामासम्म अटाएका छन् ।
आइतवार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ४ समानुपातिक सांसदमा महोत्तरीका भरत गिरी (खस आर्य पुरुष), रुपन्देहीका ताहिर अली (मुस्लिम पुरुष), झापाकी खुश्बु ओली (खस आर्य महिला) र धादिङकी सरस्वती लामा (जनजाति महिला) नाम सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

झापा सुरुंगाकी मोडल ओली काठमाडौंमा ‘सपना आमाघर’, ‘सेल्टर आश्रय’ जस्ता संस्था खोलेर समाजसेवामा लागेकी हुन् । विगतमा उनी गुन्डा नाइके दीनेश अधिकारी ‘चरी’सँगको प्रेम सम्बन्धका कारणमात्र होइन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी भनेर पनि चर्चामा छाएकी थिइन्।
पछिल्लो समय राप्रपामार्फत राजनीतिमा सक्रिय रहेकी उनी राप्रपाबाट यसपटक समानुपातिक सांसद बन्ने अवसर पाएकी छन् ।
यस्तै, राप्रपाको समानुपातिक सांसदको छनोटमा परेकी सरस्वती लामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन् । त्यसो त निर्वाचनअघि खुस्बु र सरस्वतीलाई समानुपातिक बन्दसूचीमा राखिएको भन्दै पार्टी कार्यालयमा विवाद भएको थियो । अन्ततः विवादका बाबजुद दुवै सांसद बन्ने पक्का भएको छ ।











