काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने चेतावनी दिएका छन् ।

‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा ट्रम्पले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुन सक्ने चेतावनी दिएका हुन् ।
एक दिनअघि मात्रै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र ब्रिटेनसँग होर्मुज स्ट्रेट खुलाउनका लागि भइरहेको संयुक्त प्रयासमा सहभागी हुन अपील गरेका थिए ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग बेइजिङमा हुने भनिएको आगामी बैठक अगाडि नै चीनले होर्मुज स्ट्रेट खोल्न सहयोग गर्ने पनि विश्वास व्यक्त गरे ।
ट्रम्प र सिबीच मार्च अन्तिमतिर बेइजिङमा बैठक तय भएको छ । तर, ट्रम्पले त्यसअघि नै चीनले होर्मुज स्ट्रेट खुलाउन कÞदम उठाउनु पर्ने उनको भनाइ थियो । ट्रम्पले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने पनि संकेत गरेका छन् ।











