काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फ राजनीतिक दलले पेस गरेको उम्मेदवारको सूची जाँच गर्दै छ । दलहरूले बुझाएको नामावली मिलेको खण्डमा आजै निर्वाचित भएको घोषणा गरिने आयोगले जनाएको छ ।

गत २१ फागुनमा भएको चुनावको समानुपातिक सिट बाँडफाँटपछि राजनीतिक दलले आफूले प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली आयोगमा आइतबारसम्ममा पेस गरेका छन् ।
अब आयोगले समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसार सूचीमा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व मिलेको छ वा छैन भन्ने विषयमा आज जाँच गर्नेछ । निर्देशिकाको दफा ३६ अनुसार उम्मेदवार छनोट गरिएको सूची पेस गर्दा दफा ३३ बमोजिम महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित भए नभएको आयोगले परीक्षण गर्नेछ ।
यदि सूची निर्देशिकाअनुरूप नभएको पाइएमा निर्वाचन अधिकृतले सम्बन्धित राजनीतिक दललाई नामावली सच्याउन पत्राचार गर्ने छन् । निर्वाचन अधिकृतले पत्र पठाएपछि सम्बन्धित दलले केन्द्रीय समितिको निर्णयबाट संशोधित नामावली स्वीकृत गराई दुई दिनभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ ।
दलले संशोधित सूची पनि निर्देशिकाअनुसार पेश नगरेसम्म त्यस्तो दलका तर्फबाट कुनै उम्मेदवार निर्वाचित भएको घोषणा गरिने छैन ।
सूची जाँच प्रक्रिया पूरा भएपछि निर्वाचन अधिकृतले दलले पेस गरेका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्ने छन् । त्यसपछि निर्वाचित उम्मेदवारलाई निर्वाचन अधिकृतले प्रमाणपत्र प्रदान गर्ने छन् ।











