काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको इयू टी-२० लिग खेल्ने भएका छन् ।

लिइज रेड लायन्सले सन्दीपलाई टोलिमा भित्र्याएको हो । उनलाई क्लबले ड्राफ्टअघि नै प्रि-साइन गरेको जनाएको छ । यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन, शोएब मालिकलाई भित्र्याइसकेको छ ।
सन्दीपलाई ‘मिस्ट्री स्पिनर’ भन्दै स्वागत गरेको छ । नयाँ सिजनमा सन्दीपका गुग्लीहरूले खेललाई नयाँ मोड दिने र टोलीलाई थप बलियो बनाउने क्लबले आशा व्यक्त गरेको छ ।
टोलीले उत्साहजनक शैलीमा भनेको छ, ‘यस सिजन हामी नयाँ जाल बुन्दछौँ । सन्दीपजस्ता मास्टर खेलाडी हाम्रो बलिङ आक्रमणमा आउँदा हामी निकै उत्साहित छौँ ।’
इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो । बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँगको साझेदारीमा आयोजना हुन लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म चल्नेछ ।











