काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उच्च अङ्क बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक उच्च बढेसँगै नेप्से परिसूचक पनि उच्च अङ्कले बढेको हो ।

बिहीबार नेप्से परिसूचक ६४.६९ अङ्क बढेर २८७७.०३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.६३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ४।.८५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अङ्क बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मङ्गलवार १२ अर्ब ३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३४२ स्टकको १ लाख ९१ हजार २५१ पटकको कारोबारमा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.१६ प्रतिशत बढेको छ । जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्क, सालपा विकास बैङ्क, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढेको छ । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य सर्वाधिक ५.१२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६७ करोड १६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको करिब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ ।











