काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो उपाधि जितेको हो ।

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसका लागि राशिद खानले सर्वाधिक ८१ रन बनाए । कुशल भुर्तेलले ५१ रन बनाए ।
आर्मीका लागि पवन कार्की र शाहब आलमले २-२ विकेट लिँदा आकाश चन्द र भीम सार्कीले एक९एक विकेट लिए । दोस्रो दिनको समाप्तिमा १७८ रनको अग्रता बनाएको आर्मीले तेस्रो दिन थप ४८ रन जोडेको थियो । अन्तिम विकेटका लागि आकाश चन्द र ४९ रनको साझेदारी गरेका थिए ।
आर्मीको पहिलो इनिङ स्कोर (२२१) पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाएर अलआउट भएपछि दोस्रो इनिङ थालेको आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएर अलआउट भएको थियो ।
त्यसअघि नेपाल पुलिस क्लबले पनि पहिलो इनिङमा ६१.४ ओभर खेलेर २२१ रन बनाउँदै अलआउट भएको थियो । आर्मीले पनि पहिलो इनिङमा २२१ रन बनाएकाले पुलिसलाई कुनै अग्रता हुन सकेन ।
पुलिसका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका करण केसीले सर्वाधिक ७२ रन बनाए । नआउट रहेका उनले १०९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । करणले नवौँ विकेटका लागि ललित राजवंशीसँग ६२ रनको साझेदारी गरेका थिए । कप्तान आरिफ शेखले ४४ रन बनाए । ललित राजवंशीले २०, कुशल भुर्तेलले १८ तथा दिनेश खरेलले १७ रन बनाए ।
आर्मीका सोमपाल कामीले १७ ओभरमा ७२ रन दिएर ५ विकेट लिएका थिए भने आकाश चन्दले २ विकेट लिँदा शाहब आलम, पवन कार्की, नरेन साउदले १-१ विकेट लिए ।
खेलमा आर्मीले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । पहिलो इनिङमा आर्मीले ५८.२ ओभर खेलेर २२१ रन बनाउँदा अलआउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ५० रन बनाए । भीम सार्कीले ३९, कुशल मल्लले ३८, तृतराज दासले ३२ र बसिर अहमदले ३० रन बनाए ।
पुलिसका राशिद खानले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले ३९३ विकेट लिए । पुलिसले गत संस्करणको फाइनलमा पनि आर्मीलाई नै हराएर उपाधि जितेको थियो ।











