
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ आगामी चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको समय तय भएको जानकारी दिएको हो ।
सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ ।
उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।
सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ ।
त्यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ । यस्ता सदस्यहरूले शपथको ब्यहोरालाई आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउनुपर्नेछ ।
सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आआफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई यसबारे जानकारी गराइदिन समन्वयका लागि समेत संसद सचिवालयले अनुरोध गरेको छ ।












