काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टीका नेताहरूलाई कारबाही गर्ने भएको छ । क-कसले रास्वपालाई भोट हालेका हुन् ती नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी नेकपाले दिएको हो ।

जनवर्गीय सङ्गठनहरूका नेताहरूको बैठकलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै पार्टी सैयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको बताएका थिए ।
बैठकमा प्रचण्डले ५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको जानकारी गराउँदै भने, ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । कोकोले भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरुको जनवर्गीय संगठनका नेताहरु को क्षेत्रमा गएनन्, कले भोट हालेनन्, कले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरुले दिनैपर्यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ ।’
आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरुमाथिको कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुने प्रचण्डको भनाइ रहेको छ ।
पार्टी पुनर्गठनको सुरुवात पनि यहीँबाट हुने प्रचण्डको भनाइ छ । ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौँ ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौँ अहिले । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’
जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो ।
नेपाली कम्युनिस्ट पार्टी हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ८ सिट मात्रै जितेको छ । प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुँदा सहसंयोजक माधव कुमार नेपाल गृहजिल्ला रौतहटमै पराजित भए ।
चुनाव लगत्तै नेपाली कम्युनिस्ट पार्टीले तल्लो कमिटीमा सर्कुलर गरी चुनावको समीक्षा रिपोर्ट पठाउन भनेको छ । हाल रिपोर्ट सङ्कलनको काम जारी रहेको छ ।











