Logo
Logo

नेपाल र यूएईबीच निर्णायक खेल आज, पहिलो टि–२० जित्ने नेपालको सपना


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० माघ ।
नेपाल र युएई निर्णायक तथा अन्तिम टी २० प्रतिस्पर्धा आइतबार हुँदैछ । आइतबार पौने ३ बजे दुबईको आइसिसी एमेडेमी मैदानमा हुने खेलमा जित हात पार्ने टिमले ३ खेलको सिरिज कब्जा गर्नेछ।


यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेलमा नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १(१ को बराबरी गरेको थियो। त्यसैले अन्तिम खेल निर्णायक बनेको हो।

नेपालका लागि सधैं झै ब्याटिङकै चुनौती देखिएको छ। यसअघि खेलिएका दुवै खेलमा नेपालले कमजोर ब्याटिङ गरेको थियो। पहिलो खेलमा १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ३२ रन मात्र बनाउन सकेको थियो। दोस्रो खेलमा पनि १ सय ८ रनको लक्ष्य पछ्याए पनि नेपालले मुस्किलले जित हात पारेको थियो।

टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० सिरिज जित्न सकेको छैन। सिरिज जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ। अघिल्लो साता नेपालले युएई विरुद्धको ३ खेलको एकदिवसीय सिरिज २–१ जित्दै इतिहास बनाएको थियो। पहिलो पटक एकदिवसीय सिरिज जित्ने क्रममा नेपालले पछिल्ला २ खेलमा जित हात पारेको थियो। अन्तिम खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेर इतिहास बनाएका थिए।

नेपालले हालसम्म दुई टी–२० अन्तर्रा्ष्ट्रिय सिरिज खेलिसकेको छ।बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त सिरिजका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्