काठमाडौं । आतङ्कवादी गतिविधि हुने देशहरूको सूची अनुसार नेपालको स्थिति विगतको वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको एक स्वतन्त्र र गैर-नाफामूलक संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले प्रकाशित गरेको सन् २०२६ को सूची अनुसार गत वर्षको तुलनामा नेपालले उल्लेख्य सुधार गरेको हो ।
सन् २०२५ मा ६८ औँ स्थानमा रहेको नेपाल अहिले भने ८९ औँ स्थानमा रहेको छ । यसले नेपालमा सुरक्षा स्थिति बलियो भएको र आतङ्कवादी गतिविधि कम भएको जनाउँछ ।
सन् २०२५ मा नेपालमा कुनै पनि आतङ्कवादी गतिविधि तथा आक्रमणहरू भएको नदेखिएको रिपोर्टमा उल्लेख छ । माओवादी सत्तारुढ गठबन्धनको हिस्सा बनेकाले आतङ्कवादको कुनै रिपोर्ट नदेखिएको उल्लेख छ ।
१६३ देशहरूको सूचीमा पाकिस्तान भने पहिलो नम्बरमा छ । भारत १३ औँ स्थानमा छ । गत वर्षको तुलनामा भारत दुई स्थान तल झरेको हो । यसअघि भारत ११ औँ स्थानमा थियो । भारतमा पछिल्लो एक वर्षमा आतङ्कवादी घटनाहरूमा ४३ प्रतिशतले कमी आएको छ ।
अहिले अफगानिस्तान ११ औँ, म्यानमार १४ औँ र बङ्गलादेश ४२ औँ स्थानमा छन् । भुटान र श्रीलङ्का भने आतङ्कवादी गतिविधि शून्य भएका देशहरूको सूचीमा छन् ।











