
काठमाडौं । जारी प्रधानमन्त्री कपमा एपीएफबाट खेलिरहेका ब्याट्सम्यान असिफ सेखले उत्कृष्ट शतक प्रहार गरेका छन् ।
उनले बाग्मतीविरुद्ध ८८ बलमा शतक हानेका हुन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बाग्मतीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
बाग्मतीले ओपनर दिपक बोहोरा र कप्तान रोहितकुमार पौडेललाई सस्तैमा गुमाएपछि आसिफले सन्दीप जोरासँग मिलेर बलियो शतकीय साझेदारी गरेका थिए । ४२ रनमा दुई विकेट गुमाएको स्थितिबाट उनीहरुले एपिएफलाई १४६ रनमा पु¥याए ।
जोरा ५३ बलमा ५२ रन बनाएर आउट भए । त्यसपछि भने एपिएफको ब्याटिङ लड्खडाएको छ । सुमित महर्जन ३८ बलमा १८ रन बनाएर पेभिलियन फर्किए । अमर रौटेलाले ४ बलमा १ रन मात्रै जोड्न सके ।
आसिफ पनि छैटौं विकेटका रुपमा आउट भएका छन् । १०५ बलको सामना गरेका उनले ११४ रन जोड्दा १४ चौका र ३ छक्का प्रहार गरे ।











