काठमाडौं । नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद्ले खेलका लागि दशरथ रङ्गशाला उपलब्ध नगराएका कारण खेल स्थगित गरेको जनाएको छ ।

एन्फाले भनेको छ, ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको सञ्चालनको लागि रङ्गशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२/०८२/०८३ (राखेप दर्ता नं ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर एन्फाको खेलमैदान तथा रङ्गशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल सञ्चालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउँदछौ ।’ यो खेल चैत्र १२ गते हुने तालिका रहेको थियो ।











