Logo
Logo

अस्पताल भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा


567
Shares

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुनारहिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।

तुवाचुङ नगरपालिकाकाले आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण-पत्र नियन्त्रणमा लिएको हो । 

हलेसीमा २०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको काम समेत पुरा नभएको, काममा निरन्तरता नदेखिएको तथा पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले सो कदम चालेको हो । 

हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र नगरपालिकाले ठेकेदारलाई आगामी चैत १२ गतेदेखि अस्पतालको भवन निर्माणको कामलाई जारी राख्ने प्रतिबद्धता जनाउन लगाएको छ । चैत १२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फष्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेण्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको हो । सो प्रतिबद्धता अनुसार काम नगरे नियम अनुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागज गराइएको छ । 

नमुनारहिमालयन जेभीले २०८० साउन ८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता म्याद नाघेको दुई वर्ष बितिसक्दा अस्पताल भवन जगभन्दा माथि उठ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्