काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले मङ्गलवार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई पनि बोलाइएको छ ।
गत शुक्रवारदेखि आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो । सभापति थापाको राजीनामापछि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले फागुन २१ को चुनावी पराजयको प्रारम्भिक समीक्षा गरेको थियो ।
भोलि सभापति थापाकै सभापतित्वमा बैठक बस्न लागेको हो । भोलि बस्ने बैठकले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भइरहेको नेताहरूले बताएका छन् ।











