Logo
Logo

सशस्त्र प्रहरीमा ६ डिआइजी रिक्त


3.8k
Shares

काठमाडौं । यतिबेला सशस्त्र प्रहरी बल, नेपालले आफ्नो दुईवटा बाहिनी कार्यालय निमित्तको भरमा चलाइरहेको छ । गृहमन्त्री ओमप्रकास अर्याल र गृहसचिव राजकुमार श्रेष्ठले समयमा निर्णय नलिदा सशस्त्रका दुई बाहिनी कार्यालय निमित्तको रुपमा चलेको मात्र होइन ६ डिआइजीको बढुवा रोकिएको छ । जसले गर्दा सशस्त्र प्रहरीको वृत्तिविकासमा ४ महिनादेखि अवरोध भैरहेको छ ।

सशस्त्र नयाँ आइजीपी नियुक्त हुन लाग्दा पनि डिआइजीहरुको बढुवा समयमा नहुँदा दुई वटा बाहिनी निमित्तको भरमा चलाइरहेको हो । लामो समयदेखि साधारण समूह साधारण उपसमूहतर्फ (कानुन निर्देशनालयबाहेक) नायव महानिरीक्षक (डीआईजी) को ६ वटा पद रिक्त भएपनि सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया नथालेर नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत र नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली निमित्त बाहिनीपतिको भरमा चलाइरहेको छ ।

सशस्त्र प्रहरी नेतृत्वले गत मंसिरमा डीआईजीमा बढुवा भएका कृष्णराज पाठकलाई नामा मात्र हो कार्यालय दिएर राखिएको छ । उनको कार्यक्षमता नभएकै कारण बाहिनीको जिम्मेवारी नदिई राखिएको स्रोतले जनाएको छ ।

यसैबीच अघिल्लो अंकमा ‘विदा हुँदै दुई डिआइजी’ शीर्षकमा प्रकासित समाचारमा अन्यथा पर्न गएको र उनीहरूका पदावधि थप भएको निर्णय पत्रिका प्रकासित भएको तेस्रो दिन मात्र सार्वजनिक भएकाले सम्बन्धित व्यक्तिलाई पर्न गएको असहजताप्रति दृष्टि साप्ताहिक खेद व्यक्त गर्दछ ।

हाल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठ र नम्बर ७ वैद्यनाथ बाहिनी धनगढी (कैलाली) मा एसएसपी दिगविजय सुवेदी निमित्त प्रमुख छन् । श्रेष्ठलाई केही महिनाअघि नै निमित्त बाहिनीपतिको रूपमा सरुवा गरिएको भएपनि सुवेदीलाई निर्वाचन आचारसंहिता सुरु हुनु एक दिनअघि सरुवा गरिएको थियो ।

नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतका निमित्त बाहिनीपति श्रेष्ठ सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् भने सुवेदी सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठले डीआईजी बढुवाका लागि अनिवार्य मानिएको स्टाफ कलेज गरेका छैनन् । बढुवा गर्दा उनीभन्दा जुनियर एसएसपी डीआईजी हुने र उनी निमित्त बाहिनीपतिको ‘रेस’ बाट टाढा हुने हुनाले अहिले नै उनलाई बाहिनीको कमान्ड सुम्पिएको हो । सुवेदीलाई निमित्त बाहिनीपतिको जिम्मेवारीमा दिइएकोमा उनकै ब्याचका एसएसपीहरु भने असन्तुष्ट छन् ।

सशस्त्र प्रहरीमा अहिले मंसिर पहिलो साता थप गरिएको दुई डीआईजी, गत पुस २४ गतेदेखि रिक्त भएको थप तीन गरी पाँच र फागुन १ गतेदेखि रिक्त थप एक गरी ६ डीआईजीको दरबन्दी रिक्त छ । सशस्त्र प्रहरी मूख्यालयले पटक पटक बढुवाको प्रस्ताव लगेपनि मन्त्रलयबाट स्वीकृति नआउदा रोकिएको स्रोतले जनाएको छ ।

सशस्त्रको डीआईजी बढुवामा ढिलाइ गर्नुको मुख्य कारण भनेको दाबेदारहरू बढी हुनु हो । सिसं २ सशस्त्र प्रहरी निरीक्षकका एसएसपीहरू डीआईजी बन्नेछन् । जसमा सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, किरण बस्नेत, सुधिरजंग थापा, नेत्रबहादुर कार्की, राजेन्द्र खड्का, किरण ढुंगाना, माधव पौडेललगायतको सम्भावना बढी देखिन्छ । उनीहरुले आफ्नो बढुवाका लागि सम्बन्धित निकयाहरुमा दौडधुप गरिरहेका छन् । यसैगरी कानुन समूहका युवराज अर्यालको बढुवा पनि होल्ड भएको छ । उनलाई बढुवा गर्नका लागि सशस्त्रले अलग्गै दरबन्दी पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्