Logo
Logo

कोलम्बियामा सैन्य विमान दुर्घटना, ३४ जनाको मृत्यु


378
Shares

एजेन्सी । कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । दक्षिणी अमेजन क्षेत्रमा पर्ने पुटुमायो प्रान्तमा १२१ देखि १२५ जना सवार रहेको भनिएको सैन्य विमान उडान भर्ने बित्तिकै दुर्घटना भएको थियो ।

उक्त विमान दुर्घटनामा ७० जनाभन्दा बढी घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त विमान पुएर्टो लेगुइजामो विमानस्थलबाट उडेको करिब १.५ देखि २ किलोमिटरको दूरीमै जमिनमा बजारिएको थियो ।

सुरुमा वायुसेनाले विमानमा ११० सैनिक र ११ चालक दलका सदस्य गरी १२१ जना रहेको बताए पनि स्थानीय अधिकारीहरूले १२५ जनासम्म सवार रहेको उल्लेख गरेका छन् ।

रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार विमान खसेपछि विमानमा रहेका सैन्य गोलाबारुदहरू विस्फोट भएर आगलागी भएको थियो । जसका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको थियो ।

पुटुमायोका गभर्नर जोन गेब्रियल मोलिनाका अनुसार अहिलेसम्म ३४ जनाको शव निकालिएको छ भने ७० जना घाइते भएका छन् । अझै २१ जना बेपत्ता रहेको आशंका गरिएको छ । घाइतेहरूको उपचारका लागि राजधानी बोगोटा र अन्य क्षेत्रबाट शय्यासहितका दुईवटा विशेष विमान घटनास्थल पठाइसकिएको छ ।

अहिलेसम्म ३४ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको र यो संख्या अझै बढ्न सक्ने पुएर्टो लेगुइजामोका मेयर लुइस एमिलियो बुस्टोसले बताएका छन् । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्