Logo
Logo

पार्टी एकता नै आजको प्रमुख आवश्यकता : महर


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनद्वारा आयोजित भेटघाट तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको गौरवशाली इतिहास र स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको सर्वाङ्गीण शक्तिका रूपमा व्याख्या गर्दै उनले बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गरे ।

नेता महरले सोही एकताको जगमा उभिएर आज झन् सशक्त र एकताबद्ध कांग्रेस निर्माणको संकल्प गर्नुपर्ने बताए ।
उनले पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने र पार्टीभित्रका विविध विचार तथा दृष्टिकोणहरूलाई उच्चतम सहिष्णुताका साथ आत्मसात् गर्नुपर्ने औंल्याए ।

विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उनले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उल्लेख गरे।

विगतका गुटगत किचलो र आन्तरिक शक्ति सङ्घर्षका विषयहरूलाई गौण मान्दै अबको यात्रा ‘एकताबद्ध कांग्रेस’ का लागि मात्र केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। आगामी १५औँ महाधिवेशनमार्फत पार्टीको साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्दै हिजोका सबै आग्रह–पूर्वाग्रह त्यागेर शून्यबाटै नवीन यात्रा थाल्नुपर्नेमा उनले जोड दिए।

लोकतन्त्रको रक्षा र देशको सामाजिक–आर्थिक रूपान्तरणको नेतृत्व गर्न कांग्रेसले आफैँभित्रको एकतालाई पहिलो सर्त बनाउनुपर्ने धारणा राख्दै उनले व्यक्तिगत कुन्ठा र आवेग त्याग्नुपर्ने अपरिहार्यता रहेको समेत औंल्याए । त्यसका लागि देशभरका सबै लोकतन्त्रवादीहरू एक ठाउँमा आउनुपर्ने महरको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्