काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिसले एपीएफमाथि सानदार जित निकालेको छ ।

मुलपानीमा सम्पन्न खेलमा पुलिसले एपीएफलाई १८५ रनले हराएको हो । पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रनमै अलआउट भयो । एपीएफका लागि नन्दन यादवले ४४, कमल सिंह ऐरीले ३५, सन्दीप जोराले २४, पुरन विकले २० तथा आसिफ शेखले १८ रन जोडे ।
बलिङतर्फ पुलिसका ललित राजवंशीले तीन तथा करण केसी, राशिद खान र दिनेश खरेलले दुई-दुई विकेट लिँदा सागर ढकालले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन जोड्यो । पुलिसका चार खेलाडीले अर्धशतक बनाए ।
शंकर रानाले ६१, दिनेश खरेलले ६०, दिलसाद अलीले ५१ तथा आरिफ शेखले ५० रन जोडे । यस्तै, राशिद खानले ४४, अम्रित श्रेष्ठले ३९ तथा गुलशन झाले २३ रन बनाए ।
बलिङतर्फ एपीएफका कमल ऐरी र अमर रौतेलाले दुई-दुई तथा नन्दन यादव, रोहित पौडेल, युवराज खत्रीले एक–एक विकेट लिए ।











