Logo
Logo

चैत १९ देखि सुरु हुँदै एसईई


252
Shares

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सुरु हुँदैछ । २१ फागुनमा भएको निर्वाचनको कारण यस वर्ष एसईई १२ दिनपछि सरेको हो । गत वर्ष चैत ७ देखि नै एसईई सुरु भएको थियो ।

यस वर्ष ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए ।

यस वर्ष गत वर्षको तुलनामा ४ हजार विद्यार्थी घटेका छन् । यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन् । बोर्डका अनुसार यस वर्ष जापानबाट २३ जना विद्यार्थीले एसईई दिने भएका छन् । यस वर्ष कुल परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको प्रश्नपत्र ७७ वटै जिल्लामा पुगेको जनाएको छ । एसईई सञ्चालनका लागि १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याइएको बोर्डले जनाएको छ ।

१९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउनेछ ।

पहिलो दिन १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरि २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ ।

त्यस्तै, २४, २५, २६, २७, २८ र २९ चैतमा प्राविधिक धारतर्फका पुरानो र नयाँ पाठ्यक्रममा आधारित विषयको परीक्षा सञ्चालन हुने बोर्डको परीक्षा तालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्