Logo
Logo
मध्यपूर्व द्वन्द्वको प्रभाव

आर्थिक संकट टार्न एडिबीले गर्यो वित्तीय प्याकेज घोषणा


0
Shares

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण उत्पन्न आर्थिक तथा वित्तीय प्रभावहरू न्यूनीकरण गर्न वित्तीय प्याकेजको घोषणा गरेको छ ।

एडीबीले विभिन्न देशहरूलाई तत्कालका दबाबहरू व्यवस्थापन गर्न र दीर्घकालीन उत्थानशीलता सुदृढ गर्न द्रुत, लचिलो सहायता उपलब्ध गराउने जानकारी दिएको छ ।

विशेषगरी अत्यावश्यक वस्तुहरूको (तेलसमेत) आयात सुनिश्चित गर्न छिटो निकासा हुने बजेट सहायता तथा व्यापार र आपूर्ति शृंखला वित्तपोषण पर्ने जनाइएको छ ।

एडीबीका अध्यक्ष मासातो कान्डाले विश्वव्यापी अनिश्चितताको घडीमा एसिया र प्रशान्त क्षेत्रलाई सहयोग गर्दै आएको विगतको ट्र्याक रेकर्डलाई थप मजबुत बनाउने काम अहिलेको प्याकेजले गर्ने बताए ।

एडिबीसँग हाल सञ्चालित र योजनाबद्ध कार्यहरूलाई सुरक्षित राख्न पर्याप्त स्रोतसाधन रहेको उनको भनाइ छ ।

विकासशील सदस्य राष्ट्रहरूको आवश्यकता अनुरूप काउन्टरसाइक्लिकल (चक्रीय–प्रतिकूल) ऋण बफरको उपयोग गर्दै आपतकालीन सहायता विस्तार गर्न बैंक सक्षम भएको एडिबीले जनाएको छ ।

बैंकले विश्व बजारको विकासक्रम र विशेषगरी ऊर्जा मूल्यको अस्थिरता, मुद्रास्फीतिको दबाब र बाह्य खाता सन्तुलनको सन्दर्भमा एसिया र प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूमा पर्न सक्ने सम्भावित प्रभावहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

सिपिङ मार्गहरूमा (पानीजहाजको रुटमा) भएको अवरोधले गर्दा लागत र डेलिभरी समय पहिले नै बढिसकेको छ भने आपूर्तिको जोखिम ऊर्जाबाट अघि बढेर पेट्रोकेमिकल्स र मल जस्ता प्रमुख औद्योगिक कच्चा पदार्थसम्म फैलिएको छ ।

कृषि र खाद्य उत्पादनमा समेत गम्भीर असर पार्ने देखिएको एडिबीको पछिल्लो विश्लेषणले देखाएको छ ।

एडिबीको अध्ययन अनुसार पर्यटन र रेमिट्यान्समा निर्भर अर्थतन्त्रहरूले यी प्रारम्भिक झट्काहरूभन्दा बाहिर थप जटिल जोखिमहरूको सामना गरिरहेको देखिएको छ ।

यसका अतिरिक्त द्वन्द्वले यस क्षेत्रभरि अनिश्चितता बढाइरहेको छ र वित्तीय अवस्थाहरूलाई कसिलो बनाउदा मुद्राहरू र पुँजी प्रवाहमा दबाब सिर्जना गरेको उल्लेख छ ।

यस्ता समस्या समाधान गर्न एडिबीले विकासशील सदस्य राष्ट्रहरूलाई जोखिम व्यवस्थापन गर्न, समष्टिगत आर्थिक स्थिरता कायम राख्न र जोखिममा परेका जनसंख्याको सुरक्षा गर्न समयमै वित्तीय र प्राविधिक सहयोग परिचालन गर्न तयार भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्