
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरबीच टेलिफोन वार्ता भएको छ । गोरले टेलिफोन गरेर हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएका हुन् ।
विशेष दूत गोरले चैत १० गते सभापति लामिछानेसँग संवाद गर्दै रास्वपाले चुनावी परिणाममार्फत हासिल गरेको जितप्रति शुभकामना व्यक्त गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । गोरले नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले जनाएको छ ।
उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा उत्सुक रहेको बताउँदै दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि विशेष दूतले दिएका छन् ।











