
काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलस्थित सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाधा पु¥याउने, पैसामा बार्गेनिङ गरी यौन धन्धा सञ्चालन गर्ने र बाटो हिँड्ने सर्वसाधारणलाई दुःख हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलको फायरचोकस्थित सार्वजनिक सडक खण्डमा निगरानी गर्ने क्रममा युगाण्डाका ती महिलाहरूले बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै २० जना महिलाहरू युगाण्डाका नागरिक हुन् । उनीहरूलाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुर अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिइएको छ । हाल उनीहरूमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।












