
काठमाडौं । सेयर बजार कारोबार मापक नेप्से आज (बुधबार) दोहरो अंकले घटेको छ । नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । योसँगै नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो ।
बजार घट्दा पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९ करोडको भयो । ४५ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ७ को स्थिर रह्यो ।
व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशत बढ्यो । अघिल्लो दिन पनि यहीं समूह सबैभन्दा धेरै ९.९ प्रतिशत बढेको थियो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत रहेकोमा तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ३.७७ प्रतिशत बढेसँगै व्यापार समूह आज पनि सबैभन्दा धेरै बढेको हो ।
त्यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत बढेको छ । अरु सबै समूहका सूचक घटे । बैंकिङ १. ४०, विकास बैंक २.३२, फाइनान्स २.०९, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.५३, जीवन बीमा १.३९, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा १.१५ तथा अन्य समूह १.७० प्रतिशत घटे ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पन्चकन्या माइ हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।
अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशत घट्यो । सालपा विकास बैंकको ६.९९, कर्पोरेट डेभलपमेन्टको ६.७१, सिन्धु विकास बैंकको ६.०९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल छन् ।











