
काठमाडौं । स्वतन्त्र रूपमा उदाएर देशको बागडोर सम्हाल्न लागेका रास्वपाका बालेन्द्र शाह (बालेन)ले आज प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
उनले आज दिउँसो साढे १२ः ३४ बजे प्रधानमन्त्रीको रूपमा शपथ लिन लागेका हुन् । बालेनले प्रधानमन्त्रीको लिँदै गर्दा उनको सचिवालय र रास्वपाबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ ।
नयाँ सरकारमा रास्वपाले विज्ञतालाई मुख्य आधार बनाउँदै अर्थ मन्त्रालयको जिम्मेवारी अर्थविद् डा. स्वर्णिम वाग्लेलाई दिने पक्का गरेको छ । मुलुकको अर्थतन्त्र सुधारका लागि वाग्लेको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
त्यस्तै, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा युवा नेत्री सोविता गौतमको नाम निश्चित भएको छ । रास्वपाका एक शीर्ष नेताका अनुसार यी तीनै जनाको मन्त्रालय टुंगो लागिसकेको छ भने अन्यको पनि लगभग अन्तिम चरणमा पुगेको छ ।
मन्त्री बन्ने सम्भावितहरूको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नामहरू चर्चामा छन् ।
यद्यपि यसको औपचारिक पुष्टि हुन भने बाँकी छ । मन्त्री बन्ने निश्चित भएकाहरूलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन तथा एसएमएसमार्फत जानकारी दिइसकेका छन् ।
संसदीय भूमिकाका लागि सभामुखमा रास्वपाका डीपी अर्यालको नाम टुंगो लागेको छ । आज दिउँसो प्रधानमन्त्री बालेनको शपथ ग्रहणलगत्तै नयाँ मन्त्रीहरूको पनि शपथ हुने कार्यक्रम तय गरिएको छ ।











