काठमाडौं । जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको आरोपमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका बेला, नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’माथि पनि अनुसन्धान तीव्र बनाइएको छ । उनलाई पक्राउ समेत गर्ने गरी गृह मन्त्रालयतहमा छलफल अघि बढेको उच्च स्रोतले जनाएको छ ।

उच्च स्रोतका अनुसार गृहमन्त्री सुदन गुरुङ शनिबार बिदाको दिनसमेत मन्त्रालयमा बसेर यस प्रकरणसँग सम्बन्धित फाइल मगाएका छन् ।
उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकारदेखि श्रीमतीसम्म अनुसन्धानको दायरामा तानिएका छन् । बादल गृहमन्त्री रहेका बेला नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाउँदै गिरोहले नेपाली नागरिकबाट लाखौँ रुपैयाँ असुल्नु सुरु भएको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा गरिएको ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइको चरणमा पुगेर अड्किएको छ ।
यस प्रकरणमा संलग्नताको अभियोगमा तत्कालीन एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी तीन वर्षदेखि डिल्लीबजार कारागारमा छन् । यस्तै, बादलका छोरा प्रतीक थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे, प्रकरणका मुख्य आरोपित केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा समेत पुर्पक्षका लागि थुनामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सहित ३१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।
सुरुमा गजेन्द्र बुढाथोकी सहितका व्यक्तिको जाहेरीका आधारमा १० जेठ २०८० मा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । त्यसपछि ९ वैशाख २०८१ मा दाफुरी शेर्पा सहितका व्यक्तिको जाहेरीका आधारमा सुरु मुद्दाकै प्रतिवादी केशव दुलाल सहित थप ५ जनाविरुद्ध पूरक मुद्दा दायर भयो । यस्तै, २९ साउन २०८१ मा बेचन झा विरुद्ध पनि पूरक अभियोग दर्ता गरिएको थियो ।
अदालतमा हाल विचाराधीन मुद्दामा टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पा, रामबहादुर थापाका छोरा प्रतीक थापा, सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज राईविरुद्धको मुद्दा रहेको छ ।
यसै प्रकरणमा मुख्य बिचौलिया भनिएका केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी, सन्देश शर्मा सहित गिरोहको नेटवर्कमा काम गरेको आरोप लागेका टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि यही कसुरमा मुद्दा विचाराधीन छ ।
मुद्दा दायर हुँदा पक्राउ परेका १८ जनामध्ये २ जनालाई धरौटीमा र बाँकी १६ जनालाई थुनामा पठाएर पुर्पक्ष अघि बढाइएको थियो । त्यसबेला १२ जना फरार थिए । पछि केही फरार अभियुक्त पक्राउ परे पनि अझै केही व्यक्ति फरार अवस्थामै रहेको अदालत अभिलेखले देखाउँछ । मुद्दा दायर हुँदा पुष्पकमल दाहाल प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए ।
।











