काठमाडौं । बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सेयर बजार ७१ अङ्क घटेको छ । नेप्से २९ सयमुनि झरेको छ । बजार आज २८७९ मा कायम भएको छ ।

बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोडको भयो । ९ कम्पनीको मूल्य बढ्दा २५६ को घट्यो भने एउटाको स्थिर रह्यो ।
बजारका सबै समूहगत सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । त्यस्तै बैङ्किङ २.७८, विकास बैङ्क २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार ३.०१ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
युनिक नेपाल लघुवित्तको ६.१७, हिमाल दोलखाको ५.४५, अभियान लघुवित्तको ५.३९, माउन्टेन हाइड्रो नेपालको ५.३७ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर कम्पनी छन् ।











