Logo
Logo

सिटिजन्स बैंकमा चरम लापरबाही


504
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलमा चरम लापरबाही हुने क्रम बढेको छ । विराटनगरको कञ्चनबारी शाखाबाट करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटना सतहमा आएसँगै लापरबाही फेरि बाहिरिएको हो ।

मुद्दती निक्षेपमा पैसा राख्ने ग्राहकलाई थाहा नै नदिई नक्कली ऋण फाइल बनाएर रकम निकालिएको थियो । यस घटनाकी मुख्य आरोपीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैनन् । घटनामा संलग्न अन्य कर्मचारीहरूलाई निलम्बन गरिएको छ र थप अनुसन्धान भइरहेको बताइएको छ ।

तर, यो घटना मात्रै होइन । सिटिजन्स बैंकमा यस्ता विवाद बारम्बार दोहोरिँदै आएका छन् । कहिले खाताबाट पैसा हराउने, कहिले नक्कली कागजातका आधारमा कर्मचारी नियुक्त हुने, कहिले अन्य आर्थिक अनियमितता देखिने—यस्ता घटना नयाँ होइनन् । गम्भीर कुरा के हो भने धेरैजसो प्रकरणमा कडा कारबाहीभन्दा ‘भित्रै मिलाउने’ प्रयास हुने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो घटनामा समेत संलग्न कर्मचारीसँग पैसा फिर्ता गराउने सर्तमा मुद्दा नहाल्ने कुरा उठेको देखिन्छ ।

यसले बैंकको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । गल्ती गर्नेहरूलाई कारबाही गर्नुको सट्टा जोगाउने प्रवृत्ति देखिँदा संस्थाभित्रको अनुशासन कमजोर भएको देखिन्छ। यति हुँदाहुँदै पनि नियामक निकायले कति प्रभावकारी रूपमा निगरानी गरिरहेको छ भन्ने प्रश्न पनि उठेको छ ।

बैंक भनेको विश्वासको ठाउँ हो, जहाँ मानिसले आफ्नो बचत सुरक्षित हुन्छ भनेर राख्छन्। तर सिटिजन्स बैंकसँग जोडिएका लगातारका घटनाले त्यो विश्वास कमजोर बनाइरहेको छ । अब आवश्यक छ– पारदर्शी छानबिन, दोषीमाथि कडा कारबाही र प्रणाली सुधार। नत्र, यस्ता घटना फेरि दोहोरिने जोखिम रहिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्