काठमाडौं । कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मङ्गलवार भएको खेलमा पुलिस क्लबले कोसी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । पीएम कपमा ३ खेलमा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँडेको पुलिस क्लब ७ अङ्कमा तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।
पुलिस क्लब, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबको समान सात अङ्क भएपनि नेट रनरेटमा अघि रहँदै पुलिस क्लब शीर्ष स्थानमा रहेको हो ।
प्रतियोगितामा कोशी प्रदेशले भने लगातार चौथो हार व्यहोरेको छ । एक खेलमा अङ्क बाँडेको कोशी प्रदेश १ अङ्कमा तालिकाको पुछारमा छ । कोशी प्रदेशमात्र जितविहीन एक्लो टोली हो ।
कोशी प्रदेशले दिएको १ सय ६३ रनको लक्ष्य पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान आरिफ शेख र रासिद खानले पाँचौँ विकेटका लागि १ सय ५४ रनको अविजित साझेदारी गरेपछि पुलिस क्लबले सहजै लक्ष्य भेट्टाएको हो ।
रासिद खानले ७९ बलमा ११ चौका र १ छक्का सहयोगमा ८१ रनको अविजित पारी खेले । ओपनर दिनेश खरेल २ रनमा क्याच आउट भए। शंकर राना, अमित श्रेष्ठ र दिलसाद अली शून्य रनमा नै पेभेलियन फर्के।
कोशीका लागि विपिन महतोले २ तथा दिपेश कडेलले एक विकेट लिए । त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश ४२.५ ओभरमा १ सय ६२ रन बनाउँदा अलआउट भएको थियो ।
कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाए । ओपनर सुमन श्रेष्ठ ४३ रनमा क्याच आउट भए । अङ्कित सुवेदीले २६ र सिवास बजगाइले १५ रन थपे । अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर छुन सकेनन् ।
पुलिस क्लबका लागि दिनेश खरेल एक्लैले पाँच विकेट लिए । किफायती बलिङ गरेका उनले ७.५ ओभरमा २ मेडन राख्दै २१ रन खर्चे । ललित राजवंशी र सागर ढकालले समान २ विकेट लिए ।











