काठमाडौं । जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएको छ। उनको बयान बुधबार लिइएको हो।

उनीसँगै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी पनि भइरहेको छ । तर, ओली अस्पतालमा भर्ना रहेकाले उनको बयान कसरी र कहाँ लिने भन्ने विषयमा अझै टुंगो लागेको छैन।
ओली र लेखक दुवैमाथि ज्यानसम्बन्धी कसुरमा प्रहरीमा मुद्दा दर्ता भइसकेको छ। जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूमाथि लापरबाहीका कारण ज्यान गएको कसुरमा अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले दुवै जनालाई गत शनिबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएका प्रमाणलाई मुख्य आधार बनाएर घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।











