Logo
Logo

‘एयर एसिया’की एयर होस्टेज कृजनाको फ्लाइट अनुभव (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


  • तस्बिर : हरि गोपाल प्रधान

काठमाडौं, २ मंसिर । सानोमा आकाशमा हवाइजहाज उडेको देख्दा कृजना डंगोललाई लाग्थ्यो, ‘यसरी आकाशमा उड्न पाए पनि हुन्थ्यो ।’ उनी सोच्थिन्, ‘अकाशमा उड्दा कस्तो होला ?’ तर, अहिले उनै कृजना १० घण्टासम्म आकाशमै उड्छिन् ।
‘मेरो अकाशमा उड्ने सपना पूरा भएको छ’ दुई वर्षदेखि ‘एयर एसिया’मा एयर होस्टेसको रुपमा कार्यरत कृजनाले सुनाइन् । एयर एसिया मलेसियन एयरलाइन्स हो । त्यसैले बढीजसो मलेसियामै बस्दै आएकी कृजना कोरोना महामारीका कारण नेपाल आएकी हुन् । कोरोना संक्रमणको महामारी र त्यसले निम्ताएको लकडाउनका कारण एयरलायन्सले फ्लाइटमा कटौती गरेपछि विदामा आएकी कृजना भन्छिन्, ‘सामान्य अवस्था आएपछि फेरि जान्छु ।’


एयर होस्टेस भएपछि कृजनाले विश्वमा १० भन्दा बढी मुलुक देखिसकेकी छन् । एयर एसियाले उडान भर्ने मुख्य मुलुकहरु अमेरिका, अष्ट्रेलिया, चीन, जापान, कोरिया, इण्डोनेसिया, भारत, जापानलगाययत हुन् । ती देशमा कृजनाले पुगिरहेकी हुन्छिन् । उनले पहिलो व्यवसायी उडान नै अष्ट्रेलियाको गरेको बताइन् । कृजनालाई आनन्द लाग्ने पनि अष्ट्रेलिया फ्लाइट गर्दा नै हो । कृजनाले फ्लाइट अनुभव सुनाउँदै भनिन्, ‘मलाई अष्ट्रेलिया फ्लाइट गर्दा आनन्द लाग्छ । अष्ट्रेलिया फ्लाइटमा नेपाली प्यासेन्जर पनि भेटिन्छन् । तर, अरु देशको फ्लाइट गर्दा एक जना पनि नेपाली हुँदैनन् ।’


उडानमा आफ्नो अनुभव सुनाउँदै कृजनाले थपिन्, ‘सुरु सुरुमा उडान गर्दा डर लाग्थ्यो । अहिले पनि ल्याण्ड गर्ने बेलामा डर लाग्छ ।’ आफू भन्दा पनि प्यासेन्सरको ख्याल गर्ने कुरामा डर लाग्ने गरेको उनले सुनाइन् । १० घण्टासम्म लामो फ्लाइट गर्दा छुट्टै आनन्द लाग्ने कृजनाले बताइन् । ‘दैनिक एक फ्लाइट मात्र परेको हुन्छ’ उनले भनिन्, ‘कुनै कुनै फ्लाइट १० घण्टासम्मको हुन्छ ।’ एयर एसियाले सबैभन्दा बढी फ्लाइट चीन र इण्डोनेसिया गर्छ । त्यसपछि भारत, अमेरिका र जापान । ती सबै देशमा कृजना उड्दै आएकी छन् ।


भक्तपुर लोकन्थलीकी कृजना ‘मिस नेवा–२०१७’मा सहभागी भएपछि मोडलिङमा होमिएकी हुन् । त्यही वर्ष ‘मिस भक्तपुर’मा सहभागी भएर ‘सेकेण्ड रनरअप’ उपाधि जितेकी कृजनाको उद्देश्य भने एयर होस्टेस बन्नु नै थियो । एयर होस्टेसबाहेक कृजना मोडलिङमा पनि रुचि राख्छिन् । तेक्वान्दोका ब्ल्याक बेल्ट समेत रहेकी कृजना भन्छिन्, ‘एयर होस्टेज छ छँदैछ, त्यसबाहेक मलाई मोडलिङमा पनि रुचि छ ।’ त्यसो त उनले केही एडहरुमा मोडलिङ गरिसेकेकी छन् । अब आफूले चाहेजस्तो गीतमा प्रस्ताव आए भिडियोमा मोडलिङ गर्ने उनको इच्छा छ ।

प्रतिक्रिया दिनुहोस्