
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता गर्न तथा होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा तोकेपछि इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ ।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘याद गर– मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिन दिएको थिएँ । समय सकिँदै छ । अब ४८ घण्टा मात्र बाँकी छ…।’
यस समयभित्र आफूले भनेजस्तो नभए इरानले ‘नर्कको अवस्था’ भोग्नुपर्ने चेतावनी उनले दिएपछि त्यसको जवाफ फर्काउँदै इरानी सेनाको मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले आक्रमण गरिए अमेरिका र अमेरिकी सेना जोडिएका सबै पूर्वाधारमा हमला गरिने चेतावनी दिएका हुन् ।
बीबीसी फारसीका अनुसार उनले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले आक्रमण गरेमा हामी उनीहरूका आतंकवादी सेना र यहुदी शासनसँग सम्बन्धित सबै पूर्वाधारमा निरन्तर हमला गर्नेछौँ ।’
अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामीमाथि लादिएको यो युद्ध सुरु गरेदेखि नै हामीले भनेका सबै कुरा गरिरहेका छौँ। यस सन्देशको सरल अर्थ के हो भने नर्कको द्वार तिम्रा लागि खुल्नेछ ।’
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ । बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार÷अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ ।
जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ ।














