काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हराएका एक अमेरिकी सैन्य अधिकारीलाई सुरक्षित उद्धार गरिएको बताएका छन् । ती अधिकारी आफ्नो एफ-१५ ई लडाकु विमान इरानमा खसालिएपछि हराएका थिए ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले इतिहासकै साहसी खोज तथा उद्धार अभियान सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् । उनले ती अधिकारी एक सम्मानित कर्नेलसमेत रहेको जानकारी दिँदै अहिले पूर्ण रूपमा सुरक्षित अवस्थामा रहेको बताएका छन् । उनका अनुसार अमेरिकी सेनाले २४ घण्टासम्म ती अधिकारीको अवस्थामाथि निगरानी राख्दै उद्धारका लागि रणनीति तयार पारेको थियो । उद्धार अभियानका क्रममा अत्याधुनिक हतियारसहितका दर्जनौँ विमान परिचालन गरिएको बताइएको छ ।
ट्रम्पले उद्धार गरिएका अधिकारी सामान्य घाइते भए पनि गम्भीर खतरा नरहेको र छिट्टै पूर्ण रूपमा निको हुने बताएका छन् । साथै, उक्त अभियानमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गर्दै अमेरिकी वायु सेनाले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरेको पुनस् दाबी गरेका छन् ।











