काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत सुदूपश्चिम प्रदेशले बागमती प्रदेशमाथि सानदार जित हात पारेको छ । आइतबार जनकपुरमा रामजानकी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले १६३ रनले जित हासिल गरेको हो । २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रनमै अलआउट भएको हो ।

बागमतीका लागि शुभ कंशकारले ३२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आषुतोष घिरैया, पवन थापा, इशान पाण्डे, सन्दीप लामिछानेले खाता समेत खोल्न सकेनन् भने सचिन लेखक, विवेक मगर र रिजन ढकालले एक रनमात्रै बनाए । सुदूरपश्चिमका हेमन्त धामी एक्लैले सात विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २ मेडेनसहित १४ रनमात्रै दिए ।
यस्तै, शेर मल्लले तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४२.१ ओभरमा २०९ रनमा अलआउट भएको थियो । उसका लागि नारायण जोशीले ७५, दीपक बोहराले ४०, अभिषेक पलले ३९ तथा अशोक धामीले अविजित १७ रन जोडे।
बलिङतर्फ बागमतीका सन्दीप लामिछाने र प्रतिश जिसीले चार-चार विकेट लिए भने सोनु देवकोटा र रिजन ढकालले एक-एक विकेट लिए ।











