
काठमाडौं । अमेरिका–इरान युद्धविरामपछि पनि इजरायलले लेबननका धेरै स्थानमा हवाई आक्रमण गरेको छ । जसमा परी २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन् ।
लेबननी नागरिक रक्षा टोलीका अनुसार बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरिएको हो ।
समाचार एजेन्सी एपीका अनुसार इजरायलले आक्रमण गरेपछि इरानले जलमार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ ।
यसअघि लडाकु समूह हेज्बुल्लाहले लेबननमा युद्धविराम लागु नभए सम्झौता तोडिने चेतावनी दिएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराममा हेज्बुल्लाह नसमेटिएको बताएका छन् ।
तर इरानले अमेरिकालाई पठाएको दशबुँदे युद्धविराम योजनामा हेज्बुल्लाहविरुद्ध पनि आक्रमण बन्द गरिनुपर्ने उल्लेख थियो ।
यद्यपि इजरायलले हेज्बुल्लाहमाथि आक्रमण बन्द नगर्ने बताएको थियो ।
करिब ४० दिनको युद्धपछि मंगलबार राति पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच दुई हप्ता युद्धविराम गर्ने सहमति भएको थियो ।
दिगो शान्तिका लागि शुक्रबार इस्तानबुलमा इरान र अमेरिकाका प्रतिनिधिबीच वार्ता हुने बताइएको छ ।










