
काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको निन्दा गरेको छ । लेबनानस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् ।
साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए ।
नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १२ भन्दा बढी विस्फोटका आवाज सुनिएका थिए ।
त्यसपछि दिउँसो इजरायली सेनाले १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको थियो । ‘यो अत्यन्त नाटकीय थियो । आक्रमणको स्तर अत्यन्त भयावह थियो,’ रिजाले भनेका छन्, ‘हालसम्म हताहतको यकिन तथ्यांक प्राप्त नभए पनि सयौँ मानिस मारिएको वा घाइते भएको आशंका गरिएको छ । अस्पतालहरूमा अत्यधिक दबाब छ, र देशभर रगत दानका लागि ठूलो अपिल गरिएको छ ।’
समाचार एजेन्सी रोयर्टसका अनुसार इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले इजरायल र हेजबुल्लाहलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र तत्काल अवरोधविहीन मानवीय सहायता मार्ग पुनःस्थापित गर्न आह्वान गरेको छ ।










