
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् । महोत्तरी–२ बाट प्रतिनिधिसभामा निर्वाचित शाह पछिल्लो समय विभिन्न विवादमा मुछिएपछि उनलाई मन्त्री पदबाट हटाउने तयारी भएको हो ।
श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन् । रास्वपाभित्रै पनि उनलाई हटाउनेबारे छलफल भइरहेको छ । स्रोतका नुसार रास्वपाको अनुशासन समितिले हाल मन्त्री शाहमाथि छानबिन गरिरहेको छ । पार्टीको ‘राइट टु रिकल’ नीति अनुसार उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।
श्रममन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि उनी विवादमा परेका छन् । २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए । तर, बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनका लागि पत्र पठाएको थियो ।
पछि शाह मन्त्री नियुक्त भएपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएको भन्दै चौतर्फी आलोचना भएपछि श्रममन्त्री शाहलाई नै पदबाट हटाउनेबारे रास्वपाभित्र छलफल भइरहेको छ । चैत १३ गते मन्त्री नियुक्त भएका शाहले मन्त्रालयको जिममेवारी सम्हालेको आज १४ दिन पुगेको छ । उनलाई आजै मन्त्रीबाट हटाउने तयारी छ ।










