काठमाडौं । बिहीबार सेयर बजार ४८.७१ अङ्क बढेको छ । आजको वृद्धिपछि नेप्से २८५१ अङ्कमा पुगेको छ । आज बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको कारोबार भएको छ ।

आज २५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एकको स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । आज बैङ्किङ समूह १.२४, विकास बैङ्क ०.७८, फाइनान्स १.४७, होटल तथा पर्यटन २.३९, हाइड्रोपावर २.७०, लगानी १.००, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन २.५८, माइक्रोफाइनान्स १.२०, निर्जीवन बीमा १.०० तथा व्यापार समूह ०.६२ प्रतिशत बढेको छ ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आत्मनिर्भर लघुवित्त, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् । त्यस्तै हिमस्टार ऊर्जाको मूल्य ९.६४ प्रतिशतले बढेको छ ।
स्वेत गंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै २.५५ प्रतिशत घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल छन् ।










