Logo
Logo

गोर्खाज हिमालयन हाइड्रोमा एनआईबीएल इक्विटी पार्टनर्सको १५ करोड लगानी


378
Shares

काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँ इक्विटी लगानी गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विशेष लगानी कोषका रूपमा दर्ता भई एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको एनआईबीएल इक्विटी पार्टनर्सले उक्त लगानी गरेको हो ।

गोर्खाज हिमालयन हाइड्रो लिमिटेड कोशी प्रदेशको सोलुखुम्बु जिल्ला, सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हो।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ।

आयोजनाले उत्पादित ५.८७५ मेगावाट क्षमताको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (PPA) गरिसकेको छ। उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिने जनाइएको छ।

एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले यो लगानी आफ्नो पोर्टफोलियोका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनका अनुसार यसले साना आकारका जलविद्युत् आयोजना र स्वच्छ ऊर्जामा लगानी गर्ने संस्थाको रणनीतिक लक्ष्यलाई थप स्पष्ट बनाएको छ।

उनले यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा, क्षेत्रीय विकास र दीगो आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी, गोर्खाज हिमालयन हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले आयोजनाको महत्त्वपूर्ण चरणमा एनआईबीएल इक्विटी पार्टनर्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

उनका अनुसार यो साझेदारीले निर्माण कार्यलाई थप गति दिने र आयोजना समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति विस्तार गर्नुका साथै स्वच्छ र दीगो ऊर्जातर्फ नेपालको दीर्घकालीन लक्ष्य पूरा गर्न समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

हाल आयोजनाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। कम्पनीले सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्