
एजेनसी । अमेरिका र इरानबीच ६ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्यका साथ पाकिस्तानको इस्लामावादमा भएको ऐतिहासिक वार्ता बिना निष्कर्ष सम्पन्न भएको छ । एक दशकभन्दा लामो समयपछिको यो पहिलो प्रत्यक्ष भेटवार्ता र सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा उच्चस्तरीय राजनीतिक संवाद हो ।
करिब १५ घण्टासम्म चलेको यस वार्तामा दुवै पक्षका प्राविधिक विज्ञहरूले दस्ताबेज आदानप्रदान गरेका छन् । इरानी सरकारले केही गम्भीर मतभेदहरू कायमै रहे पनि वार्तालाई निरन्तरता दिने जनाएको छ, यद्यपि अर्को बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन ।
पाकिस्तानी मध्यस्थतामा भएको यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विट्कफ र र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए भने इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराक्चीले नेतृत्व गरेका थिए । दुई पक्षबीचको संवादका क्रममा वातावरण निकै उतारचढावपूर्ण रहेको र आपसी अविश्वास स्पष्ट देखिएको स्रोतले बताएको छ ।
इरानी प्रतिनिधिमण्डलले युद्धमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र अन्यको शोकमा कालो पोसाक लगाएका थिए भने अमेरिकी बमबारीमा मारिएका विद्यार्थीका जुत्ता र झोलाहरू टेबुलमा राखेर विरोध जनाएका थिए ।
यस वार्ताको मुख्य केन्द्रमा विश्वको २० प्रतिशत ऊर्जा आपूर्ति हुने स्ट्रेट अफ होर्मुज जलमार्ग रहेको छ, जसलाई इरानले युद्ध सुरु भएदेखि नै बन्द गरिदिएको छ । अमेरिकी सेनाले सो क्षेत्रबाट आफ्ना युद्धपोतहरू पार भएको र समुद्री माइनहरू हटाउने तयारी गरिरहेको बताए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ । इरानले कतार र अन्य विदेशी बैंकहरूमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने र लेबनानसहित क्षेत्रीय स्तरमा पूर्ण युद्धविराम हुनुपर्ने माग राखेको छ ।
उता राष्ट्रपति ट्रम्पले भने विश्वव्यापी ढुवानीका लागि जलमार्ग खुला हुनुपर्ने र इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा निस्तेज पार्नुपर्ने अडान राखेका छन् । वार्ता चलिरहँदा इस्लामावादमा हजारौँ सेना र अर्धसैनिक बल परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो ।










