
एजेन्सी । इरानसँगको वार्ता असफल भएपछि अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले पाकिस्तान छाडेका छन् । पाकिस्तानको मध्यस्थतामा इरानसँग २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि उनी आइतबार बिहान आफ्नो वार्ता टोलीसहित इस्लामावादबाट बाहिरिएका हुन् ।
अमेरिका फर्कनुअघि भान्सले इस्लामाबादमा पत्रकार सम्मेलन गरी इरानसँग सहमति हुन नसकेको जानकारी गराएका थिए ।उनले भनेका थिए, ‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो । अब हामी सम्झौताबिनै फर्किंदै छौँ ।’
उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताए । उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ ।’ उता इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ ।










