Logo
Logo

बीबीएलमा सन्दीप लामिछाने होबर्ट हरिकेन्समा आबद्ध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ मंसिर ।
अष्ट्रेलियाको बिग बास लिग(बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस पटक होबर्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।
होबर्ट हरिकेन्सले विदेशी खेलाडीको कोटामा सन्दीपलाई क्लबमा आबद्ध गरेको बताएको छ । होबर्टले सन्दीपलाई कति रकममा अनुबन्ध गरेको हो भन्नेबारे भने केही खुलाएको छैन ।


यस वर्षको बीबीएल डिसेम्बर १० देखि सुरु हुने भए पनि सन्दीप भने जनवरीबाट टिममा सहभागी हुने क्लबले जानकारी दिएको छ । सन्दीपले होबर्ट हरिकेन्समा आबद्ध हुनु अत्यन्तै खुसीको कुरा भएको बताएका छन् । सन्दीपको भनाइ उद्धृत गर्दै क्लबले लेखेको छ, ‘बीबीएलको दसौं संस्करणमा होबर्ट हरिकेन्स टिममा आबद्ध हुन पाउँदा म अत्यन्तै आभारी छु । मलाई अस्ट्रेलियाले सधैँ माया र सहयोग गरेको छ । बिग बासमा गुणात्मक प्रतिस्पर्धा हुन्छ । म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि निकै आतुर छु ।’

हरिकेन्सका मुख्य प्रशिक्षक एडम ग्रिफिथले पनि सन्दीपका कारण टिमको बलिङ आक्रामक हुने बताएका छन् । ‘सन्दीपले आफ्नो रहस्यमयी स्पिनमार्फत खेललाई कसरी परिवर्तन गर्छन् भन्ने हामीले देखेका छौं । उनले इनिङ्सको जुनसुकै स्टेजमा पनि बलिङ गर्न सक्छन् । उनी प्रमाणित ‘विकेटटेकर’ हुन् जसले हाम्रो बलिङ समूहमा अर्कै आयाम थप्नेछन्,’ मुख्य प्रशिक्षक ग्रिफिथले भने ।

सन्दीपले यसअघि बीबीएलको दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले सन् २०१८–१९ को सिजनबाट बीबीएलमा डेब्यु गरेका थिए । उनले दुई वटा सिजनमा गरेर बीबीएलमा २० खेलबाट २६ विकेट लिएका छन् ।

हरिकेन्समा आबद्ध हुने विदेशी खेलाडीमा सन्दीपसँगै किमो पल, डेविड मलान, विल ज्याक्स र कोलिन इन्ग्राम रहेका छन् । हरिकेन्समा स्कट बोल्यान्ड, जेक डोरान, नथान एलिस, जेम्स फकनर, पिटर ह्यान्ड्सकम्ब, डेभिड मुडी, टिम पेन, डार्सी शर्टलगायतका चर्चित अस्ट्रेलियाली क्रिकेटर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्