काठमाडौं । जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा ओपनर अर्जुन कुमालको शतकमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा गण्डकीले लुम्बिनीलाई ८ विकेटले हराएको हो । लुम्बिनीमाथि जितको बाबजुद पनि गण्डकी प्रदेशलाई जय ट्रफी खेल्ने सम्भावना कायम राख्न अर्को खेलमा जितको विकल्प छैन भने अन्य खेलको नतिजामा समेत भर पर्नुपर्नेछ।
गण्डकीले ८ खेलमध्य तीन खेलमा जित, ४ खेलमा हार र एक खेलमा अङ्क बाँड्दै सात अङ्कमा तालिकाको आठौँ स्थानमा छ । गण्डकीले अब आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशसँग खेल्ने तालिका छ।
गण्डकीसँग हारको बाबजुद पनि लुम्बिनी प्रदेशले जय ट्रफी खेल्ने सम्भावनालाई कायम राखेको छ । पिएम कपका शीर्ष ६ टोलीले जय ट्रफी खेल्नेछन् ।
लुम्बिनीले पिएम कपमा अझै २ खेल खेल्न बाँकी छ । लुम्बिनीले सात खेलमा ३ खेलमा जित र ३ खेलमा हार भोग्दा एक खेलमा अङ्क बाँडेको छ । लुम्बिनीले अब मङ्गलवार बागमती प्रदेश र बुधवार त्रिभुवन आर्मी क्लबसँग खेल्ने तालिका छ ।
लुम्बिनीले दिएको २ सय ८ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले १ सय ३ रनको अविजित पारी खेले । अर्जुनले १ सय ३० बलमा १३ चौका र १ छक्का प्रहार गरे ।
जारी पिएम कपमा अर्जुनको यो दोस्रो शतक हो । अर्जुन जारी पिएम कपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् ।
लुम्बिनीका सन्तोष यादव र दिनेश बोहोराले समान एक विकेट लिए। त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा २ सय ७ रन बनाउँदा अल आउट भयो ।
लुम्बिनीका सन्तोष यादवले ८२ र सलाहुद्दीन खानले ६० रन बनाए । दिनेश बोहोराले २० र कप्तान देव खनालले १४ रन बनाए ।
गण्डकीका विपिन खत्रीले ४ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दै ३७ रन दिए । अपराजित पौडेलले ३ विकेट लिए । सिवरिन श्रेष्ठले २ तथा विश्व कार्कीले एक विकेट आफ्नो नाममा गरे । उनले ४ सय ९८ रन बनाएका छन् ।










