Logo
Logo

शिक्षामन्त्री पोखरेलको सम्पत्ति: २० करोडको घरजग्गा, २५ तोला सुन


0
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन्। यसमा करोडौँ मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन्।

सार्वजनिक विवरणअनुसार मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख गरिएको छ। यस्तै, काठमाडौँकै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ। मोरङमा १ कठ्ठा जग्गा पनि उनको नाममा उल्लेख छ, जसको मूल्य १ करोड रुपैयाँ रहेको छ।

पारिवारिक सम्पत्तिको रूपमा उनका बुवाको नाममा काठमाडौँमा ४ आना २ पैसाको घडेरी छ, जसको मूल्य साढे २ करोड रुपैयाँ जनाइएको छ। आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड रुपैयाँ बराबरको जग्गा र गोकर्णेश्वरमा अर्को डेढ करोड रुपैयाँ बराबरको जग्गा रहेको देखाइएको छ।

त्यस्तै, आमासहित परिवारको नाममा गोदावरीमै ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको कुल मूल्य ७५ लाख रुपैयाँ जनाइएको छ। उनीसँग २५ हजार रुपैयाँ नगद पनि रहेको उल्लेख छ। यी सम्पत्तिहरू आमाको दाइजो, बुवाको जागिर र पैतृक सम्पत्तिबाट प्राप्त भएको उनले खुलाएका छन्।

बैंक मौज्दाततर्फ, सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ रहेको उल्लेख छ। यसैगरी, विभिन्न कम्पनीका सेयरमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ लगानी रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ।

सवारी साधनतर्फ, बुवाको नाममा ७० लाख रुपैयाँ पर्ने एक थान ईभी कार र मन्त्री पोखरेलको व्यक्तिगत नाममा झन्डै ४० लाख रुपैयाँ पर्ने अर्को कार रहेको उल्लेख छ। उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि आफ्नो विवरणमा जनाएका छन्।

यी सबै सम्पत्ति र दायित्वहरू समेटेर मन्त्री पोखरेलले आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको जनाएका छन्

प्रतिक्रिया दिनुहोस्