काठमाडौं । वाणिज्य बैङ्कहरूले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । वैशाख महिनाका लागि १० बैङ्कको ब्याजदर स्थिर छ ।

यसरी ब्याजदर स्थिर राख्ने बैङ्कहरूमा प्राइम कमर्शियल बैङ्क, नेपाल बैङ्क, ग्लोबल आईएमई बैङ्क, माछापुच्छ्रे बैङ्क, नेपाल एसबीआई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, सानिमा बैङ्क, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क र एनएमबि बैङ्क रहेका छन् ।
त्यस्तै, ९ बैङ्कले ब्याजदर घटाएका छन् । यी बैङ्कहरूमा सिद्धार्थ बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, सिटिजन्स बैङ्क, हिमालयन बैङ्क, नबिल बैङ्क, एनआईसी एशिया बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क छन् ।
सिद्धार्थ बैङ्क तथा एनआईशी एशिया बैङ्कले मुद्दतीतर्फ व्यक्तिगत र संस्थागत दुवैतर्फ अधिकतम ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले तल झारेको छ । हिमालयन बैङ्कले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले तल झार्दा अन्य बैङ्कले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन् । नबिल बैङ्कले भने संस्थागत निक्षेपको ब्याज मात्रै घटाएको छ ।
व्यक्तिगततर्फ सिटिजन्स बैङ्कले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले ०.२५, एभरेष्ट बैङ्कले ०.२०, कुमारी बैङ्कले ०.०७, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ०.०१ प्रतिशत विन्दुले घटाउँदा नबिल बैङ्कले संस्थागततर्फ ०.५४ प्रतिशत ब्याजदर घटाएको छ ।
यसपटक ब्याजदर बढाउने एकमात्र बैङ्क कृषि विकास बैङ्क रहेको छ । उक्त बैङ्कले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।











