काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री बालेनले सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका हुन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा बागमती प्रदेशका सांसदहरू सहभागी भएका थिए । बैठकमा प्रदेशका समग्र समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका विशिष्ट चुनौतीहरूबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो ।
छलफलका क्रममा सांसदहरूले आफ्नो आफ्नो क्षेत्रका पूर्वाधार, सेवा प्रवाह, विकास आयोजना तथा स्थानीयस्तरका विभिन्न समस्याहरूबारे समग्र विवरण प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
प्रधानमन्त्रीले प्रस्तुत समस्याहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै उपलब्ध स्रोत र बजेटअनुसार चरणबद्ध रूपमा समाधान गर्ने ढाँचामा अघि बढ्ने तयारी गरेको जानकारी गराएका छन् ।










