काठमाडौँ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब पार्टी आन्दोलन प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्ष निकालेको छ ।

जोरपाटीमा गत चैत २४ गते बसेको विस्तारित बैठकले नेतृत्व हस्तान्तरणभन्दा पुस्तान्तरण आवश्यक रहेको ठहर गरेको हो । बैठकमा केन्द्रीय सदस्यदेखि वडा तहसम्मका नेताहरू सहभागी थिए ।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा एमालेले काठमाडौंमा एक सिट पनि जितेको थिएन । १० सिटमध्ये २ ठाउँमा मात्रै जमानत जोगाउन सकेको थियो। त्यसपछि गरिएको समीक्षामा युवापंक्ति आकर्षित हुन नसक्नु, नेतृत्वप्रति असन्तुष्टि र कमजोर संगठनात्मक परिचालन लगायतका कारण निकालेको हो ।
साथै पार्टी केन्द्रमा १२ बुँदे सुझाव पनि पेश गर्ने निर्णय गरेको छ । बैठकको निष्कर्षसहितको उक्त सुझाव बागमती प्रदेश र केन्द्रीय कमिटीमा पठाइने अध्यक्ष दीपक निरौलाले बताएका छन् ।











