काठमाडौं । प्रधानमन्त्री कपमा कर्णाली प्रदेशबाट खेलीरहेका अनुज चनाराले कर्णाली बाट नखेल्ने घोषणा गरेका छन् । आफूलाई लगातार अवसरबाट वञ्चित गरिएको भन्दै उनले नखेल्ने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै चनाराले विगत २ वर्षदेखि आफूलाई टोलीमा आफूलाई गरिएको व्यवहारप्रति असन्तुष्टि पोखेका छन् । ५० ओभरको खेलमा प्राय ३-४ ओभरमात्र बलिङ गर्न दिइने र एउटा खेलमा विकेट लिन नसक्दा टीमबाट बाहिर राखिने गरेको उनको आरोप छ ।
चनाराले लेखेका छन्, ‘मलाई प्लेइङ ११ मा राखिए पनि ५० ओभरको खेलमा प्रायः ३-४ ओभर मात्र बलिङ गर्न दिइन्थ्यो । सुरुवाती ओभरमै १-२ विकेट लिँदा पनि मलाई पूरा १० ओभरको स्पेल दिइएन । त्यसपछि हरेक खेलमा २-४ ओभर मात्र अवसर दिइयो, र जब विकेट लिन सकिनँ, लगातार २-३ खेलमा टोली बाहिर राखियो । कप्तान र कोचसँग बारम्बार प्रश्न गर्दा ‘स्पिन ट्र्याक छ’ भन्ने जवाफ मात्र पाइन्थ्यो ।’
चनाराले २०८१ मा दाङमा भएको खेलमा पुलिस क्लवविरुद्ध १० ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएका थिए । यस वर्ष उनले सुदुरपश्चिमविरुद्ध ५ ओभरमा ३३ रन दिएर २ विकेट लिएका थिए। त्यसपछिको २ खेलमा २-३ ओभरमात्रै बलिङ गर्न पाएको र त्यसमा विकेट नलिएपछि लगातार ३ खेलमा बाहिर राखिएको उनको भनाइ छ ।
‘पुलिस क्लबविरुद्ध फेरि मौका पाउँदा ६ ओभरमा ३५ रन दिएर २ विकेट लिएको थिएँ, तर त्यसपछि फेरि आज गण्डकीसँगको खेलमा बाहिर राखियो,’ उनले भनेका छन् ।
चनारावले विगत ५-६ वर्षदेखि कर्णाली प्रदेशबाट क्रिकेट खेल्दै आएका छन् । कर्णाली प्रदेशबाट राष्ट्रिय टोलीको क्याम्पसम्म पुग्ने आफू पहिलो खेलाडी भएको उनको दाबी छ । उनले यू-१९ टोलीको क्याम्पमा समेत सहभागिता जनाएका थिए ।
‘मैले सधैँ कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु । तर, विगत ३ वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु । मैले कप्तानसँग सोध्दा ‘माथिबाट जे आदेश आउँछ, त्यही गर्छु’ भन्ने जवाफ पाइयो । यी सबै परिस्थितिलाई मध्यनजर गर्दै, मैले आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको छु ।’
कर्णाली प्रदेशले आज आफ्नो अन्तिम खेल गण्डकीविरुद्ध खेल्दै छ । उक्त खेलमा प्लेइङ ११ भित्र नअटाएपछि अबबाट कर्णालीबाट नखेल्ने घोषणा गरेका हुन् ।











