काठमाडौं । अमेरिकाको न्युयोर्कमा इरान युद्ध र इजरायललाई हतियार उपलब्ध गराएको विरोधमा प्रदर्शन गरिरहेका ९० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरूले म्यानहट्टन क्षेत्रमा सडकमा उत्रिएर नाराबाजी गर्दै सवारी आवागमन अवरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको हो । ट्राफिक अवरोध भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रदर्शनमा सहभागीहरूले सडक कब्जा गर्दै युद्धको विरोध गरेका थिए । उनीहरूले जनताको हितमा लगानी गर्नुपर्ने भन्दै बम र युद्धका लागि खर्च रोक्नुपर्ने माग गरेका थिए ।
प्रदर्शनकारीहरूले यसअघि अमेरिकी नेताहरूका कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए । तर रोक लगाएपछि उनीहरूले सडकमै विरोध प्रदर्शन सुरु गरेका थिए । त्यसपछि प्रहरीले कारबाही गर्दै सबैलाई बसमा राखेर लगेको जनाएको छ । पक्राउ पर्नेमा केही चर्चित व्यक्तिहरू पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।











