
एजेन्सी । तीन दशकभन्दा बढी समयपछि इजरायल र लेबनानबीच प्रत्यक्ष कूटनीतिक वार्ता भएको छ । इजरायल र इरान समर्थित हेज्बुल्लाहबीच जारी द्वन्द्व अन्त्यका लागि मंगलबार अमेरिकामा वार्ता गरिएको हो ।
वार्तामा मध्यस्थता गर्ने अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले यसलाई ‘ऐतिहासिक अवसर’ भनेका छन् । यसले हेज्बुल्लाहको प्रभावलाई हटाउने दिशामा एक कदम अगाडि बढाउने उनको दाबी छ ।
अमेरिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्ष प्रत्यक्ष वार्ता सुरु गर्न सहमत भएका छन्, यद्यपि समय र स्थान अझै तय भएको छैन ।’
इजरायलले हेज्बुल्लाहलाई उल्लेख गर्दै सबै गैरराज्य सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्न चाहेको बताएको छ । यसैबीच लेबनानले देशमा गहिरिँदै गएको मानवीय संकटलाई सम्बोधन गर्न युद्धविराम र ठोस कदम चाल्न माग गरेको छ ।
दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन र यस स्तरमा अन्तिम प्रत्यक्ष वार्ता यसअघि १९९३ मा भएको थियो । लेबननमा मार्च २ मा इजरायलले सैन्य आक्रमण सुरु गरेयता २ हजाभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।











